भक्तपुर, जेष्ठ ३० - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफनो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीको राजीनामाको पक्षमा नरहेको बताएका छन् ।'समर्थन फिर्ता गरेर सरकारको नैतिकता माथि प्रश्न गरेका हांै,' रफत सञ्चार क्लब भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा उनले भने-'तर राजीनामा मागेका होइनौ ।' अब बन्ने सरकारले पनि आफनो मागलाई बेवास्ता नगरोस भनेर वर्तमान सरकारलाई खवदारी मात्रै गरेको उनले बताए । समर्थन फिर्तालाई राजिनामा मागको रुपमा नराखेको उनले बताए ।
वर्तमान सरकारलाई समर्थन गर्दा राखेको १८ बुंदे शर्त आफनो पार्टीको मात्र नभई जनताको माग हुँदा समेत पुरा गर्न कसैले चासो नदिएको आरोप लगाए । १८ बुँदे माग सरकारसंग नभई एमाले अध्यक्ष झलनाथ खनालसंग माग गरेर सम्झौता गरेको उल्लेख गर्दै उनले पार्टी अध्यक्ष जस्तो व्यक्तिले हस्ताक्षर गरेको कुरा समेत पुरा नभएको बताए । 'अध्यक्षले प्रतिबद्धता जनाएको कुरा एमालेकै नेतृत्वमा सरकार हुँदा समेत पुरा भएन,' उनले भने-' उनीहरुबाट देश र जनताले के आश गर्ने ?'